आराधनामा प्रशंसा र सेवा समावेश गरिएको हुन्छ । यस पाठ्यपुस्तकका लेखक मोरिस विलियमले प्रार्थना र आराधनाको नयाँ जीवन हामीलाई परिचित गराएका छन् । येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभएको प्रार्थनालाई नजीकबाट हेर्दा यसले यही नै देखाउँछ कि हामीहरूले प्रार्थना र आराधनालाई हाम्रो जीविकाबाट अलग गर्नसक्दैनौँ । प्रार्थना कहिल्यै पनि सकिँदैन । हामीले गर्ने हरेक कुरामा यो संगल्न छ । यस पाठ्यपुस्तकमा प्रार्थनालाई आराधनाको निम्ति तयारी, र परमेश्वरलाई प्रसन्न पार्ने र उहाँका उद्देश्यहरूलाई पूरा गर्ने तरीकाका रूपमा परिभाषित गरिएको छ ।
हामी को हौँ भन्ने कुराको बुझाइकासाथ प्रार्थना शुरू हुनुपर्छ। हामी साँच्चै परमेश्वरका सन्तान हौँ भनी हामीले बुझेका छौँ भने, हामीले प्रार्थना गर्दा यसले हामीलाई निश्चयता प्रदान गर्छ । हाम्रा पिताले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा सबै आवश्यकताहरूलाई जुटाउनुहुन्छ भनी जान्न पाउनु कति अचम्मको कुरा हो !
प्रार्थना र आराधनाको बारेमा हामीले कुराकानी गरिरहँदा हामीले स्वर्गको बारेमा किन लेख्नैपर्ने त ? अति असल कारणको निम्ति हामीले लेखिरहेका छौँ ! हामीले जसरी प्रार्थना गर्नुपर्ने हो, त्यसैगरी प्रार्थना गर्नका लागि, हामी को हौँ र कहाँका हौँ भनी हामीले जान्नैपर्छ । हामीले जससँग प्रार्थना गरेका छौँ, उहाँसँग हाम्रो सम्बन्ध ठीक हुनैपर्छ । हामी दुवैले चासो राखेका थोकहरूका बारेमा हामीले कुराकानी गर्नुपर्छ । स्वर्ग वास्तविक ठाउँ हो, र परमेश्वरको सन्तान त्यहाँ जानेछन् । तब हामीले किन यसको बारेमा प्रार्थना गर्नुपर्दैन र ?
प्रार्थना गर्नका लागि कुन विषयहरू सबैभन्दा महत्वपूर्ण छन्? यो त प्राथमिकताको विषय हो । हामी प्राथमिकताका बारेमा कुराकानी गर्नेछौँ । सर्वप्रथम हामीले परमेश्वरलाई आराधना गर्नैपर्छ । तब हामीले सोध्नुपर्छ । तर यसलाई याद गर्नुहोस्, प्रतिफल खोज्नेहरूलाई होइन, तर उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुनेछ ! प्रार्थनामा भएको प्राथमिकता आराधना हो । सबै थोकहरूभन्दा माथि हामी परमेश्वर र उहाँको राज्यको बारेमा सरोकारित हुनुपर्छ ।
के परमेश्वरको इच्छा पूरा गर्नका लागि तपाईं इच्छुक र तयार हुनुहुन्छ ? येशूजस्तो हुन र उहाँको इच्छा पूरा गर्नका लागि हामीलाई सहायता गर्न परमेश्वरले हामीलाई भएका कुराहरूलाई प्रयोग गर्नुहुन्छ । केही कुराहरू तपाईंमा हुनका लागि परमेश्वरले किन दिनुहुन्छ भन्ने कुरा जान्नका लागि तपाईंले धेरै प्रार्थना गर्नुपर्ने हुन्छ ।
मानिसहरूले चाहेका सबै कुराहरू परमेश्वरले उनीहरूलाई दिनुहुने हुनाले उहाँ भलो हुनुहुन्छ भनी उनीहरू विचार गर्छन् । हाम्रा सबै खाँचोलाई पूरा गर्ने प्रतीज्ञा परमेश्वरले गर्नुभएको छ । हामीले चाहेको कुरा उहाँले हामीलाई दिनुभएको होस् भनेर होइन, तर हामीले उहाँलाई प्रेम गरेका कारण हामीले उहाँलाई खोजेको परमेश्वरले चाहनुहुन्छ ।
के क्षमा नदिने आत्मासाथ प्रार्थना गरेर परमेश्वरको उत्तरको प्रतीक्षा गर्न सम्भव छ ? के हामी हाम्रा दाजु‑भाइ, दिदी‑बहिनीलाई घृणा गर्दै साँचो रूपमा परमेश्वरलाई आराधना गर्नसक्छौँ ? के हामीले सँच्चै मन नपराएका मानिसहरूका निम्ति प्रार्थना गर्न सक्छौँ ? प्रार्थना र आराधनाले अरूहरूप्रतिको हाम्रो प्रवृत्तिलाई असर पार्छ । यदि हाम्रा छिमेकीहरूलाई प्रेम गर्न प्रार्थना र आराधनाले हामीलाई मद्दत गर्दैन भने यसको उद्देश्य नै के रह्यो र ?
दुष्टले विश्वासीहरूलाई निराश पार्नका लागि कडा परिश्रम गर्छ । आफ्ना मानिसहरूका वरिपरि यदि प्रभुले "पर्खाल" नलगाउनुभएको भए दुष्टले सफलता पाउने थियो । परीक्षा र दुःखकष्ट विना हामी आत्मिक रूपमा बढ्दैनौँ भनी परमेश्वर जान्नुहुन्छ । त्यसकारण परमेश्वरले बेलाबेलामा त्यस पर्खाललाई हटाइदिनुहुन्छ । हामीलाई कष्ट दिनका लागि उहाँले शैतानलाई अनुमति दिनुहुन्छ । यो हाम्रै भलाइको निम्ति हो, तर प्रार्थना र आराधनाद्वारा मात्र यो भलाइको निम्ति हो भनी हामी जान्न सक्छौँ । दुःखकष्टलाई हाम्रो नोकर बनाऔँ ! हामीले सक्नेजति यसबाट असल कुरा प्राप्त गरौँ !